Wednesday, October 9, 2024
घरसमाजपटेरले महिलाको जीवनमा ल्याएको परिवर्तन

पटेरले महिलाको जीवनमा ल्याएको परिवर्तन

- Advertisement -spot_img

परासी, माघ ७ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ बस्ने ४० वर्षीया कल्पना चौधरीलाई १२ वर्षअघि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउथ्यो । श्रीमानको पनि रोजगारी नभएकाले सामान्य खेतीपातिले घर धान्न कल्पनालाई मुश्किल थियो । छोराछोरीलाई पढाउन अर्कैको मजदुरी गर्नुपथ्र्यो । अहिले भने कल्पनालाई घरखर्च चलाउन मात्र होइन दुई छोरीलाई पढाउन समेत चिन्ता छैन । उहाँले छोरीहरुलाई फार्मेसी र ल्याब पढाउँदै आउनु भएको छ । ठूली छोरी फार्मेसी र कान्छीले छोरी ल्याब पढ्दै आउनु भएको छ । अहिले कल्पनाले घर खर्च र छोरीहरुलाई पढाउनेदेखि छिमेकीलाई परेको बेला सरसापट पनि चलाउने गर्नुहुन्छ । कल्पनाको जीवनमा एक्कासी यो परिवर्तन भने आएको होइन । गाउँमा त्यसै खेर गएको पटेर ( गुन्द्री, चकटीलगायतका हस्तसामाग्री बनाउन प्रयोग हुने एक प्रकारको घाँस प्रजाती, यो प्रजाती पानी जमेको ओसिलो ठाउँमा हुने गर्छ ) ले उहाँको जीवनमा परिवर्तन ल्याएको हो । ‘ १२ वर्षअघि छिमेकी गाउँकी दिदी पोखरा जानु भएको थियो, त्यहाँ उहाँले एक मेलामा पटेरबाट बनेका हस्तसामग्रीहरु देख्नु भएको रहेछ । मेलामा त्यसबारे सोधिखोजी गरेपछि यहाँ आएर उहाँले पटेरबाट बन्ने सामग्रीको तालिम दिन थालेपछि धेरै महिला अहिले आत्मनिर्भर बनेका छन् । ’ कल्पनाले भन्नुभयो ।

पटेरबाट हस्तसामग्री बनाउन इच्छुक भएपछि घरेलु कार्यालय, स्थानीय तह र विभिन्न संघ संस्थाहरुले महिलाहरुलाई तालिम दिन थालेको थियो । त्यही तालिमबाट अहिले धेरै महिला सीप सिकेर जीविकोपार्जनको माध्यम बनाएको कल्पनाको भनाई छ । पटेरबाट सुकुल, पिर्का, मोढा, गुन्द्री, म्याट, कलमदानी, टोपी, चकटीलगायतका सामानहरु बनाउने गरिएको छ । तिनै सामानहरु बेचेर छोरीहरुलाई मेडिकल लाइनको पढाई गराउन सकेको कल्पनाको भनाई छ । कल्पना मात्र होइन उहाँकै छिमेकी किशुन कुमारी चौधरीको पनि पटेरले आर्थिक जीवन नै परिवर्तन गरिदिएको छ । पटेरकै सामग्री बेचेर किशुन कुमारीले करिब ३ कठ्ठा जग्गा किन्नु भएको छ । वार्षिक रुपमा एक जनाले करिब १० लाख बराबरको पटेरका सामान बेच्ने गरेको उहाँहरुको भनाई छ । खर्च कटाएर मासिक ४० देखि ५० हजार बचत हुने गरेको उहाँहरुले बताउनुभयो । उत्पादन भएको सामान बेच्न उहाँहरुलाई समस्या छैन । सजिले सँग सामान बिक्री हुने गरेको छ । कहिले काही त सामान पु¥याउनै मुश्किल हुने उहाँहरुको भनाई छ । उक्त सामान ठूला ठूला होटलहरुमा जाने गरेका छन् । होटलहरुबाट म्याट, टोपी, सुकुललगायतका सामानको माग बढी छ । ‘बजारको समस्या नै छैन । माग बढी भएकाले कहिले काही पु¥याउ नै सकिन्न ।’ कल्पनाले भन्नुभयो । होटलबाहेक पनि अन्य पसलहरुबाट माग आउने गरेको छ । सबैभन्दा बढी ठूला मुडा, सुकुल, चकटीको माग हुने गरेको छ । माग भएका सामान भने स्थानीय बजार क्षेत्रबाट चल्ने सार्वजनिक बसमा पठाउने गरेको उहाँहरुले बताउनुभयो ।‘ उधारो खासै हुँदैन सबैजसो नगदै हुन्छ । कसैले त अग्रिम पैसा पठाउनुहुन्छ ।’ किशुन कुमारीले भन्नुभयो । आफूहरुले उत्पादन गरेको सामान विदेशीहरुले पनि मन पराएको सुनेको उहाँहरुको भनाई छ । ‘ होटलबाट फोन आउँदा विदेशीले पनि मन पराएका छन् । भन्दै फोन आउँछ । सरकारले पटेर उद्योग सञ्चालनका लागि सहयोग गरेर विदेश पठाउने वातावरण मिलाए धेरै महिलाका लागि यो पेशा रोजगारीको माध्यम बन्ने थियो । ’ किशुन कुमारी र कल्पनाले भन्नुभयो ।

सुरुमा समूह बनाएर काम गर्दै आएकोमा अहिले कल्पना र किशुन कुमारीले छुट्टाछुट्टै निजी फर्म दर्ता गरेर व्यवसाय नै सञ्चालन गर्नुभएको छ । सुरुमा ५ हजार टेक्टरको दरले ३ टेक्टर पटेरको बिउ .(गाभा ) किनेर खेतमा रोपेको उहाँहरुले बताउनुभयो । एक पटक गाभा गाडेपछि धेरै समय हुने र बिउसमेत हुने गरेपछि अहिले समस्या नभएको उहाँहरुको भनाई छ । पहिला सामान्य खेतमा पटेर लगाउनु भएका उहाँहरुले अहिले ६ बिघा घोल खेत ( पानी जम्ने खेत) भाडामा लिएर पटेर खेती गर्दै आउनु भएको छ । यसले गर्दा कच्चा पदार्थको समस्या नभएको उहाँहरुको भनाई छ ।
दुबै जना अहिले पटेर सम्बन्धी हुने तालिममा प्रशिक्षकसमेत हुनुहुन्छ । स्थानीय तह र अन्य कार्यालयले आयोजना गर्ने तालिममा आफूहरुलाई प्रशिक्षकका रुपमा बोलाउने गरेको उहाँहरुले बताउनुभयो । सुस्ता र प्रतापपुर गाउँपालिकाको क्षेत्र पटेर खेतीका लागि उत्तम छ । पटेरका सामग्रीको माग बढेपछि अहिले ति दुई गाउँपालिकाका करिब २ सय बढी महिलाले यसलाई आम्दानीको स्रोत बनाएका छन् ।

आफूले उत्पादन गरेका मात्र होइन अन्य महिलाहरुले बनाएका सामान पनि दुवै जनाले खरिद गरेर बाहिर पठाउने गरेको उहाँहरुले बताउनुभयो । आफूहरुले उत्पादन गरेको सामग्रीहरु चितवन, पोखरा, बुटवल र काठमाण्डौंमा जाने गरेको उहाँहरुको भनाई छ । घरमा सहजै बसेर बनाउन सकिने भएकाले यसप्रति महिलाहरुको आकर्षण बढेको छ । ‘ गाउँका महिलाहरुले उत्पादन गरेका सामान पनि हामी आफैंले खरिद गरिदिन्छौं । बजारमा बिक्री हुन नसके महिलाहरुले हामीलाई ल्याएर दिनुहुन्छ । ’ किशुन कुमारीले भन्नुभयो । आफूहरु पूरै दिन यो पेशामा लागेपनि गाउँका महिलाहरुले भने फुर्सदमा सामान बनाउने गरेको उहाँहरुले बताउनुभयो । ‘धेरै महिला घरायसी काम र अन्य काममा लाग्ने भएकाले पूरा समय दिनुहुन्न फुर्सद निकालेर काम गर्नुहुन्छ, त्यति गर्दा पनि एक जना महिलाले मासिक १२ देखि १५ हजार कमाउने गरेका छन् । ’ कल्पनाले भन्नुभयो ।

पटेर खेतीलाई प्रोत्साहन गर्न सुस्ता र प्रतापपुर गाउँपालिकाले लघु उद्यम शाखा मार्फत तालिमहरु सञ्चालन गर्दै आएका छन् । ‘ पटेरलाई उद्यमकै रुपमा अगाडी बढाउन पालिकाले बजेट छुट्टाएर तालिम र अन्य आवश्यक सहयोग गर्दै आएको छ । ’प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले भन्नुभयो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्