काठमाडौं, ३ साउन । सम्पति शुद्धीकरणकाे निगरानी गर्ने संस्था फाईनान्सियल एक्सन टास्क फाेर्स (एफएटीएफ) ले सम्पत्ति शुद्धीकरणकाे जाेखिमपूर्ण सूची (ग्रे लिष्ट) मा तत्काल नराख्ने भएपछि नेपाल जाेगिएकाे छ ।
नेपाली टोलीले कानूनी र संरचनागत सुधारको प्रतिवद्धता जनाएपछि एफएटीएफले म्याद थपेको छ । क्यानडाको भ्याङकुभरमा सम्पन्न एफएटीएफको साधारणसभाले नेपाललाई प्रतिवद्धता कार्यान्वयनका लागि करिव एक वर्षको समय दिएको छ । उक्त आराेपलाई सुधार गर्ने प्रतिबद्धताका लागि नेपाल बाट प्रतिनिधित्व गर्न ३० जना भन्दा बढिकाे टाेलि क्यानडा पुगेकाे थियाे । उनीहरुले सम्पत्ति शुद्धीकरण र गैरकानूनी सम्पत्तिको कारोवार नियन्त्रणका लागि प्रतिबद्धता जनाएपछि एफएटीएफले केही समय दिएको, भेलामा सहभागी एक प्रतिनिधिले बताए ।
‘हामी निकै जोखिमपूर्ण अवस्थामा थियौं, संरचनागत कमजोरी र राजनीतिक संरक्षणका कारण तिमीहरुले कामै गर्न सकेनौं भनी आलोचना भयो’ ती सहभागीले भने, ‘हामीले कानून सुधार गर्छौं र गैरकानूनी सम्पत्ति आर्जन र लगानीको सवालमा कठोरतापूर्वक लाग्छौं भनेर प्रतिबद्धता जनाएपछि उनीहरुले केही समय दिएका हुन् ।’
क्यानडाकाे भ्याङकुभरमा सम्पन्न एफएटीएफको साधारणसभामा नेपालबाट प्रतिरक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानून मन्त्रालय, नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी लगायतका सरोकारवाला निकायका अधिकारीहरु क्यानडा पुगेका थिए ।
प्रतिवेदनको प्रतिवादका क्रममा नेपाली टोलीले विभिन्न सुधारका प्रतिबद्धता जनाएपछि त्यसको कार्यान्वयन हुन नसकेको भनी अध्ययन टोलीले आलोचना गर्दै आएको थियो । स्राेत -अनलाइन खबर