काठमान्डौं, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले रनले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
जितका लागि नेपालले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७४ रनमा समेटिएको थियो । माल्दिभ्सका लागि मुआभिथा गानीले सर्वाधिक ३६ रन बनाउनुभयो । रसीद रसमले १२ र फ्रेड सिउसले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । माल्दिभ्सलाई सस्तैमा समेट्न बलिङमा नेपालका अविनास बोहराले ६ विकेट लिए।
समूह ए बाट प्रतिस्पर्धा गरेको नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । अब नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमध्ये एक टोलीसँग खेल्नेछ ।