परासी १९ साउन । नवलपरासीमा स्थानिय तहहरु ले विपद् कोषको पैसा विकास निमार्णमा खर्च गरेको पाईएको छ । उनहिरुले विपद् लागि बनाएको ऐन तथा कार्यविधि विपरित खर्च गरेका छन् ।
हरेक वर्ष स्थानीय तहले स्थानीय विपद् व्यवस्थापन समिति मार्फत विपद कोष स्थापना गरेका हुन्छन् । त्यही अनुसार नवलपरासीका सबै पालिकाहरु (स्थानीय तह) ले पनि विपद् व्यवस्थापन कोष स्थापना गर्ने गरेका छन् । तर जिल्लामा रहेका केही पालिका (स्थानीय तह) ले भने विपद्को पैसा अन्यत्र खर्च गरेका छन् । उक्त शिर्षकमा रहेको पैसा अन्यत्र खर्च गर्न नमिल्ने भएपनि स्थानीय तहका जनप्रतिनिधिहरु ले आँफुखुशि मनलाग्दो तरिकाले खर्च गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुको यो मनलाग्दी कामले संघीय सरकारले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि–२०७९ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको धज्जी नै उडाएको छ । जिल्लाका केही पालिकाहरुले विपद् व्यवस्थानमा भन्दा सडक मर्मत, ग्राभेल, माटो पुर्ने, मोटर खरिद र कृषि मिटर खरिद लगायतका काममा खर्च गर्ने गरेको पाइएको छ । कोषको रकमबाट राहत सामाग्री वितरण, विपद्मा परेकालाई अवस्था हेरेर आर्थिक सहयोग तथा विपद्बाट उत्पन्न परिस्थिति र उत्पन्न हुन सक्ने परिस्थितिजन्य अवस्थालाई देखेर पालिकाहरुले रकम खर्च गर्न मिल्ने कार्यविधि र ऐनमा उल्लेख छ । तर कोषबाट विपद्मा भन्दा अन्य शिर्षकमा रकम खर्च गरेर रकमको सदुपयोग गरेको पाइएको छैन । विपद्मा भन्दा अन्य योजना र शिर्षकमा बढी रकम खर्च गर्नेमा बर्दघाट र सुनवल नगरपालिका छन् । केही पालिकाहरुले कोषको रकम विपद्मा खर्च नभएपछि पुनः कोषमै जम्मा गरेका छन् । जिल्लाका पालिकाहरुले १० लाख देखि एक करोड सम्म विपद् कोषमा रकम राख्ने गरेका छन् ।
आ.व. २०७९÷०८० बर्दघाट नगरपालिकाको स्थानीय विपद् कोषमा ५७ लाख ४७ हजार ३११ रुपैयाँ रकम थियो । नगरपालिकाले केही रकम कार्यविधि र ऐनविपरीत खर्च गरेको छ । कोषको रकमबाट नगरपालिकाले ३३ लाख ७८ हजार १२८ रुपैयाँ अन्य शिर्षकमा खर्च गरेको छ । बाँकी २३ लाख ६९ हजार १८३ रुपैयाँ मात्र विपद् अन्तरगत भन्दै राहत रकममा खर्च गरेको । बर्दघाटले बाटो मर्मतमा ४ लाख ७३ हजार २३३, माटो पुर्ने काममा ९९ हजार, विभिन्न वडाहरुमा कृषि मिटर, मोटर खरिदमा २ लाख २८ हजार खर्च गरेको छ । त्यसैगरी विभिन्न वडाहरुमा ह्युम पाइप खरिदमा ५ लाख १८ हजार र घोला÷ खोला सरसफाईमा २० लाख ५८ हजार रुपैयाँ खर्च भएको नगरपालिकाका सूचना अधिकारी एंव योजना तथा प्रशासन शाखा प्रमुख पुष्कर काफ्ले जानकारी दिए । विपद्मा भन्दा अन्य शिर्षमा रकम खर्च गर्ने पालिकाका जनप्रतिनिधिहरु ले आफ्ना दलका कार्यकर्ता र नजिकका व्यक्तिलाई रिजाउन कोषको रकम बाट योजना नै तोकेर दिने गरेको पाइएको हो ।
त्यस्तै आ.व. २०७९÷०८० मा सुनवल नगरपालिकाले विपद् कोषमा १ करोड रुपैयाँ राखेको थियो । उक्त कोषमा रहेको रकमबाट नगरपालिकाले विपद्मा परेकाहरुलाई राहत वा सहयोगमा खासै खर्च पाईएको छैन । केही रकम विपद् पूर्वतयारी अन्तरगत भन्दै खर्च गरिएको छ । नगर सभाले नै विपद् कोषको रकम बाट योजना सञ्चालन गर्नका लागि निर्णय गरिएकाले विभिन्न शिर्षकमा खर्च गरिएको लेखा अधिकृत वृहस्पती घिमिरले बताए । नगरपालिकाले कोषको रकमबाट ‘हिलो मुक्त अभियान’ भन्दै ७ लाख रुपैयाँ खर्चेको छ । त्यसैगरी तटबन्धनमा ५३ लाख र जाली खरिदमा २० लाख रुपैयाँ खर्चेको छ । अन्य रकम जनप्रतिनिधिहरु को तोक आदेशको भरमा गरिएको योजनामा खर्च गरिएको बताइएको छ ।
त्यस्तै रामग्राम नगरपालिकाको आ.व.२०७९÷०८० मा विपद् कोषमा कुल ४२ लाख ४६ हजार रुपैयाँ रहेको थियो । जसबाट डेंगु नियन्त्रण, बाढीबाट घर ढलेका, डुबान प्रभावित र आगलागीमा परेका स्थानीयलाई कुल १६ लाख ९९ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको लेखा अधिकृत कुन्दन चौधरीले जानकारी बताए । विपद् बाहेक अन्य शिर्षकमा खर्च नगरिएकाले बाँकी रकम चालु आर्थिक वर्षमा स्वतः कोषमा जाने चौधरीले भने । पाल्हीनन्दन गाउँपालिकाले आ.व. २०७९÷०८० मा विपद् कोषमा १० लाख छुट्टाएको थियो । उक्त रकमबाट करिब ५ लाख बराबरको विपद्का समयमा आवश्यक पर्ने उद्दार सामाग्री खरिद गरिएको लेखा अधिकृत दिनानाथ ढकालले बताएका छन् । अन्य शिर्षकमा खर्च नगरिएकाले चालु वर्षमा कोषमा २६ लाख रुपैयाँ मौज्जाद रहेको ढकालले जनाकारी गराए । यता सुस्ता गाउँपालिकाले छुट्याएको विपद् कोषको रकम भने खर्चै नभएको सुस्ता गाउँपालिकाका लेखापाल गणेश पन्थी भनेका छन् । गाउँपालिकाले विपद् कोषमा राखेको ६८ लाख रुपैयाँ खर्च नभएको पन्थीले बताएका छन् । सो रकम कोषमै रहेको उनको भनाई छ ।
यस्तै प्रतापपुर गाउँपालिकाले विपद् कोषमा रहेको रकमबाट १२ लाख रुपैयाँ आगलागीमा परेका र अन्य विपद्मा परेकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराइएको लेखा अधिकृत दिनानाथ ढकालले बताएका छन् । अहिले कोषमा ४० लाख रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ । सरावल गाउँपालिका आ.व. २०७९÷०८० मा विपद् कोषमा ५० लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले भनेका छन् । उक्त रकमबाट विपद् पूर्वतयारी स्वरुप पुनस्र्थापना निर्माणमा १५ लाख रुपैयाँ खर्च गरिएको छ । सबैवडा कार्यालयमा आगलागीबाट बँच्नका लागि उपकरण खरिद र स्वास्थ्य चौकीमा खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताएका छन् ।