परासी, माघ ३० । नवलपरासी जिल्लामा जथाभावी खोलाहरुको दोहन गरी नदीजन्य पदार्थ (ढुंगा, बालुवा, भस्कट) को चोरी कार्य बढेको छ। पछिल्लो समय बर्दघाट र सुनवल नगरपालिका क्षेत्रका खोलाहरुबाट नदीजन्य पदार्थको चोरी कार्य बढेको हो । जिल्लामा यि दुई पालिकामा सबैभन्दा बढी नदीजन्य पदार्थको स्रोत छ ।
रातको समयमा मात्र नभई दिउँसै पनि खोलाहरुबाट नदीजन्य पदार्थको चोरी बढेको हो । यदाकदा प्रहरीले चोरीका नदीजन्य पदार्थ पक्राउ गरेर पालिकामा पठाउने गरेपनि चोरी कार्य भने रोकिन सकेको छैन । सबैभन्दा बढी बर्दघाटको खजुरा खोलाबाट नदीजन्य पदार्थको चोरी कार्य बढेको छ । त्यसैगरी बर्दघाटकै गंगोटी खोला र सहायक खोलाहरुबाट पनि नदीजन्य पदार्थको चोरी बढेको बताइएको छ । सुनवलको तुरिया, पानभार, भूमही खोलाबाट पनि चोरी निकासी बढेको स्थानीयले बताएका छन् । खोलाहरुबाट त्यसरी अवैधरुपमा ल्याइएका नदीजन्य पदार्थ डम्पिङ (घाटगद्धी) गरेर राख्ने गरिएको छ । पुरानै स्टक भन्दै त्यसरी चोरीका नदीजन्य पदार्थहरु पठाउने गरिएको बताइएको छ । त्यस्तै रामग्राम नगरपालिकाको झरही र तुरिया खोलाबाट भस्कटको चोरी कार्य बढेको छ । चोरी गरेर स्टक राखिएका नदीजन्य पदार्थ केही महिनाअघि सुनवल नगरपालिकाले बरामद गरेको थियो । भने अहिले बर्दघाट नगरपालिकाले त्यसरी चोरी गरेर स्टक राखिएका नदीजन्य पदार्थ बरामद गर्न थालेको छ ।
पछिल्लो समय बर्दघाट नगरपालिकाले तीन दिनको अवधिमा अवैधरुपमा डम्प गरी राखिएको १५० टाली ढुंगा र २ सय टाली बालुवा जफत गरिएको सूचना अधिकारी पुष्कर काफ्लेले जानकारी दिनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्म ६ लाख ४० हजार अवैध नदीजन्य पर्दाथको जरिवानाबाट असुल गरेको काफ्लेले बताउनुभयो । त्यस्तै सुनवलले बरामद गरेको १२ लाख ६० हजार बराबरको नदीजन्य पदार्थलाई लिलाम गरेको छ । त्यसैगरी चालु आर्थिक वर्षको ७ महिनासम्म सुनवलले अवैध नदीजन्य पदार्थ बोकेका टिपर र ट्याक्टर सँगबाट १६ लाख ८० हजार जरिवाना असुल गरेको नगरपालिकाले जनाएको छ ।
ठेक्का लगाउन ढिलासुस्ती
पालिकाहरुले समयमा ठेक्का लगाउन ध्यान नदिदा चोरी कार्य बढेको बताइएको छ। ठेक्का लगाएपनि ठूला मेसिन प्रयोग गरेर नदीजन्य पदार्थको दोहोन भने रोकिन नसकेको विगतका वर्षहरुले देखाएको छ । अन्तिम समयमा ठेक्का लगाउँदा ठेकेदारले ठूला मेसिन प्रयोग गरेर नदीजन्य पदार्थको दोहोन गर्ने गरेका हुन्। समयमा ठेक्का लगाउन नसक्नुमा पालिकाहरुका आ-आफ्नै तर्क छन् । सुनवल नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतहरुको छिटो छिटो सरुवा हुँदा आवश्यक प्रकृया अघि बढाउन समस्या भएकाले ठेक्कामा ढिलाई भएको जनाएको छ । नदीजन्य पदार्थबाट सबैभन्दा बढी सुनवल र बर्दघाटले राजस्व संकलन गर्ने गरेका छन् । ‘खोलाहरुको आईईई भर्खर सकेका छौं । केही समयमा ठेक्का आव्हान गर्छौं ।’ सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले भन्नुभयो । यता बर्दघाट नगरपालिकाले खोलाहरुको ठेक्का आव्हान गरेपनि वनले रोक लगाएका कारण ठेक्का तोडेको छ । ‘ठेक्का निकालेका थियौं । आईईई गर्दा दुई वटा क्षेत्र वनमा पर्यो । अर्को आवाधि रहेपनि वनले सहमति नदिदा ठेक्का लगाउन मिलेन ।’ नगर प्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो । ठेक्का नलाग्दा पनि चोरी कार्य बढेको हो । त्यसरी चोरी गरेर स्टक राखेका नदीजन्य पदार्थ बरामद गरिएको र लिलाम प्रकृया सुरु गरिएको नगर प्रमुख श्रेष्ठको भनाई छ । विभिन्न स्थानबाट बरामद गरेका नदीजन्य पदार्थलाई बर्दघाटले वडा नम्बर ५ को जितपुर प्राविमा राखेको छ । नाप जाँच गरेर लिलाम प्रकृया अघि बढाइने नगरपालिकाले जनाएको छ ।
रामग्राम नगरपालिकाले भस्कट निकाल्नका लागि प्रकृया अघि बढाएको जनाएको छ । यस नगरपालिकामा भस्कटबाहेक अन्य नदीजन्य पदार्थ छैन झरही र तुरिया खोलाको भस्कट निकाल्नका लागि प्रकृया अघि बढाएका छौं । नगरपालिका आफैँले उठाएर स्टकमार्फत लिलाम प्रकृया अघि बढाउछौं ।’ नगर प्रमुख धनपत यादवले भन्नुभयो । यसअघि खोला सफाईका क्रममा निस्केको भस्कट लिलाम गरिएको यादवको भनाई छ । त्यसैगरी सुस्ता गाउँपालिकाले नारायणी नदीमा ठेक्का लगाएको छ । नदीको तीन स्थानबाट नदीजन्य पदार्थ निकाल्नका लागि टेन्डर आव्हान गरिसकेको गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो ।
साउनदेखि तीन महिनासम्म पालिकाहरुले ठेक्का लगाउने गरेका छैनन् । ‘कात्तिकदेखि आवश्यक प्रकृया पूरा गरेर ठेक्का लगाउनु पर्ने हो तर, उक्त समयपछि पनि पालिकाहरुले ठेक्का प्रकृया अघि बढाएको पाइएको छैन । अन्तिम समयमा आएर मात्र ठेक्का निकाल्ने परिपाटीले चोरी कार्य बढेको हो।’ जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले भन्नुभयो । परासी पत्र