परासी, माघ ३ । नक्कली कागजात बनाएर लैजाँदै गरेको अवस्थामा नवलपरासी प्रहरीले ४ सय जीउ बोइलर कुखुरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीको टोलीले ग २ च ९०१३ नम्बरको पिकअप भेनमा लैजाँदै गरेको अवस्थामा करिब ३ लाख बराबरको १० क्विन्टल कुखुरा बरामद गरेको हो । उक्त कुखुरा लम्जुङ् पठाउन भन्दै बर्दघाट नगरपालिका१४ गंगाबस्तीस्थित दाउन्ने फ्रेस हाउस एण्ड सप्लायर्स’ले भिसिटीसी अनलाइन बिल काटेको थियो । भिसिटीसीका आधारमा कुखुरा फर्मकै हो भन्ने सप्लायर्सले पुष्टी गर्न नसकेपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिए । उक्त कुखुरा अवैधरुपमा भारतबाट ल्याएको प्रहरीले जनाएको छ ।
भिसिटीसी दुरुस्त रहेपनि भेटेरिनरी स्वास्थ्य प्रमाण पत्र भने नक्कली भएको पाइएको पशु क्वारेन्टाइन चेक पोष्ट महेशपुरका पशु चिकित्सक डा. मनोज अधिकारीले जानकारी दिए । एक जिल्लाबाट अर्को जिल्लामा पठाउँदा पशुपंक्षीको स्वास्थ्य प्रमाण पत्र आवश्यक छ । ‘स्वास्थ्य प्रमाण पत्रमा हस्ताक्षर गर्ने चिकित्सकको नाम काउन्सिलमै नभएको पाइएकोले प्रमाण पत्र नक्कली भएको पुष्टी भएको हो । ’ पशु चिकित्सक डा. अधिकारीले भने ।
बरामद भएका कुखुरालाई खाल्डो खनेर बुधबार नष्ट गरिएको छ । त्यसैगरी नक्कली प्रमाण पत्र बनाउने सप्लायर्सका सञ्चालक तीलकराम चौधरी, कुखुरा बोक्ने सवारी साधन र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने पशु क्वारेन्टाइन चेक पोष्टले जनाएको छ । भारतसँग सीमाना जोडिएका जिल्लाका भूजहवा, रामनगर, बसैयालगायतका नाकाबाट अवैधरुपमा कुखुरा भित्रिने गरेका छन् । त्यसरी भित्रिएका कुखुरालाई विभिन्न ठाउँमा रहेका पोल्टी फर्म र पशुपंक्षीको कारोबार गर्ने सप्लायर्सले बिल काटेर अन्यन्त्र पठाउने गरेका छन् ।