परासी, वैशाख २४ । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत केन्द्ररको विद्युत उत्पादन पुर्णरुपमा बन्द रहेको छ ।
प्रतापपुर गाउँपालिका– ७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत केन्द्रको उत्पदान करिब दुई महिना देखि बन्द रहेको जलविद्युत केन्द्रका प्रमुख पिताम्बर भुषालले बताउनु भएको छ । जलविद्युत केन्द्रको क्यानल सहटडाउन (नहर बन्द) भएपछि विद्युत उत्पादन रोकिएको उहाँले बताउनु भएको छ । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनु भएको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युतमा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जसअनुसार भारतको उतर प्रदेश गोरखपुरस्थित गोरखपुर सिंचाई विभागले उक्त विद्युत केन्द्रको नहर मर्मत कार्य भईरहेको भन्दै नहरमा पानी बन्द गरेको छ । त्यसैले विद्युत उत्पादन बन्द रहेको प्रमुख भुषालले बताउनु भएको छ । तर यसको विषयमा आधिकारीक कुनै पत्र प्राप्त नभएको र नेपाल क्षेत्रमा मर्मत कार्य पनि नभएको उहाँले बताउनु भएको छ । हरेक वर्ष भारतीय पक्षले कार्तिक–मंसिर र चैत–वैशाख गरि दुई पटक नहरको पानी बन्द गर्ने गर्छ । ।
१५ मेगावाट विद्युत उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले ५ देखि साढे ५ मेगावाट सम्म विद्युत उत्पादन गरिरहेको छ । तर विद्युत उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औषतमा ७ देखि ८ लाख सम्म घाटा रहेको जलविद्युत केन्द्रका प्रमुख भुषालले बताउनु भएको छ । तीन वटा टर्वाइन भएको जलविद्युत केन्द्रेमा दुई टर्वाइनले मात्र विद्युत उत्पादन गरिरहेको छ । भने एउटा टर्वाइन विग्रेर थन्केको छ । यसैगरि गण्डक जलविद्युत केन्द्रमा रहेको उपकरणहरु लाई परिर्वतन गरि सुधार गर्नुपर्ने आवश्कता देखिएको उहाँले भन्नु भएको छ ।