परासी, पुष २४ । पूर्णरुपमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सड्क एकतर्फी सञ्चालनमा आएकोे छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने स्थित खुर्सानीखोलामा बाक्लो हस्सु र शितलहरले सड्क चिप्लो भएर अवरुद्ध थियो । निरन्तरको प्रयासपछि उक्त सड्क खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनु भएको छ । बुधवार विहान साढे ७ बजेदेखि पूर्णरुपले अवरुद्ध सड्क दिउसो २ बजेदेखि एकतर्फी सुचारु भएको उहाँले बताउनु भएको छ । सवारीसाधनहरु लाई आलोपालो सवारी पासको भरमा सञ्चालनमा ल्याईएको सूचना अधिकारी बोहराले बताउनु भएको हो । बुटल–नारयणगढ निर्माण भईरहेको सड्क खण्ड दाउन्नेमा चुनौतिपुर्ण नै रहेको छ ।
हिजोदेखि पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सुले र लगातारको शितलहरले यात्रा चुनौतीपूर्ण नै रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुईतर्फी सड्क सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख एवं प्रहरी टोलीहरु सड्कको मर्मत कार्यमा निरन्तर प्रयासरत रहेको छ ।