काठमान्डाैं, मंसिर २० । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिभुवन विश्वविद्यालयका शैक्षिक कार्यक्रम ठप्प पार्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी संघसँग वार्ता, छलफल र सम्झौता गर्ने तर कार्यान्वयनमा इमानदारिता नदेखिने परम्पराको निरन्तरताप्रति संघले असन्तुष्टि जनाएको छ ।
त्रिवि संघले उपकुलपति कार्यालयलाई बुझाएको विज्ञप्तिमा लेखिएकाे छ, ‘हामीसँग भएको विगतका सम्झौतालाई पूर्ण कार्यान्वयन र गुमेका सुविधाहरूको यथावत प्राप्तिको सुनिश्चितताका लागि ३ दिनमा ठोस निर्णय नदिए त्रिविका सम्पूर्ण निकायमा प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्ण रूपमा ठप्प पार्ने चेतावनी दिएकाे छ ।
‘लामो समयदेखि ज्यालादारी, करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा स्थायित्वको प्रक्रिया सुरु नहुनु, पदोन्नतिको अवसर सुचारु नहुनु, नियमित विज्ञापन नहुँदा जनशक्ति अभावमा विश्वविद्यालयको दैनिक प्रशासन सञ्चालनमा समेत अवरोध सिर्जना हुनु र पछिल्लो समयमा कर्मचारीहरूले खाइपाइ आएको प्रोत्साहन पारिश्रमिक सुविधासमेत पूर्ण रूपमा कटौती हुनुले आम कर्मचारीमा निराशा र अन्योलता छाइरहेको छ । साथै विश्वविद्यालयको लक्ष्य र उद्देश्य हासिल गर्नसमेत बाधा पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ । स्राेतः शिलापत्र