बुटवल, पुस २। गृहमन्त्री रमेश लेखकले तस्करी र राजस्व चुहावट तत्काल राेक्न निर्देशन दिनु भएकाे छ । लुम्बिनी प्रदेशमा तस्करी तथा सीमापार अपराधको समस्या रहेको बताउनु भएकाे छ ।
आज रूपन्देहीकाे भैरहवामा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तुरुन्त रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभयाे । सरकार बन्ने बित्तिकै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने बित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला चलाइने गरेको उल्लेख गर्दै मन्त्री लेखकले अहिलेको गठबन्धन २०८४ सम्म नै जाने जिकिर गर्नुभयाे । ‘२०८४ को चुनावसम्म यही गठबन्धन रहन्छ कुनै तल–माथि हुन्न’ गृहमन्त्री लेखकले भन्रुभयाे ।
गृहमन्त्री लेखकले लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता अपराध रहेको औँल्याए । समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार भएको भन्दै गृहमन्त्रीले कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको बताए ।
गोष्ठीमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहितका पदाधिकारी सहभागी छन् । त्यस्तै, लुम्बिनी प्रदेश मातहतका जिल्लामा कार्यरत जिल्ला सुरक्षा समितिमा पदाधिकारीहरू गोष्ठीमा सहभागी भएका छन् ।