परासी, भदौं २ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुुस्तामा झोलुङ्गे पुलको माध्ययमा विद्युतीकरण हुँदैछ ।
सुस्तालाई उज्यालो बनाउनका लागि हालै निर्माण गरिएको झोलुङ्गे पुलको माध्यमबाट सुस्तामा विद्युतीकरण हुँदै छ । सुस्तामा ११ हजार भोल्टको विद्युत आपूर्तीका लागि तार तान्ने काम भईरहेको विद्युत प्राधिकरण शाखा कार्यालय बर्दघाटका प्रमुख प्रशान्त कुमार झाले बताउनु भएको छ । पुलमा काम गर्न चुनौतीपूर्ण भएकाले विस्तारै काम भईरहेको बताउनु भएको छ । जस्मा दुईवटा सय के.भिको ट्रान्सफर्मर जडान गरी सुस्ताको घर–घरमा विद्युत वित्तरण हुने छ । तर त्यसका लागि केही कामहरु अधुरो नै रहेको उहाँले भन्नु भएको छ । उहाँले भन्नु भयो, “सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागको सस्पेन्स बृज डिभिजन कार्यालय संग हाम्रो कार्यालयको सम्झौतापछि मात्रै त्यसमा विद्युत आपूर्ती गर्न सकिन्छ ।” तरपनि विद्युतीकरणका बाँकी कार्य गर्नका लागि मौखिक रुपमा सहमति भएअनुसार कामलाई अगाडि बढाईको उहाँले भन्नु भयो ।
नेपाल विद्युत प्राधिकरणद्धारा स्विकृत गरिएको एक करोड ३३ लाखको बजेटमा सुस्तामा विद्युतीकरण भईरहेको प्रमुख झाँले बताउनु भएको छ । सस्पेन्स बृज डिभिजन कार्यालय संगको सहमति पछि तुरुन्तै विद्युत दिन मिल्नेगरी सबै तयारी हप्ता दिनमा सम्पन्न गरिने भन्नु भएको छ । चालिस हजार हेक्टरमा फैलिएको सुस्तामा दुई सय ७३ घरधुरी रहेको छ ।
त्यहाँ नेपाल सरकारको वैकल्पिक सौर्य उर्जा विभाग र गाउँपालिकाको संयुक्त साझेदारीमा सोलार मार्फत विद्युत आपूर्ति गरिएपनि पूर्णरुपले धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरण द्धारा विद्युत आपूर्ती गर्ने तयारी भईरहेको छ ।