हेटौँडा, भदौ २९ गते । हेटौँडा अस्पतालका ७८ चिकित्सकहरु ले सामूहिक राजीनामा दिएका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक राजीनामा दिएका हुन् ।
चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा बुझाएका हुन् । चिकित्सकमाथि भएको कुटपिटको घटनाको विरोधमा हेटौँडा अस्पताललगायतका स्वास्थ्य संस्थाहरूको सेवा शुक्रबार बिहानबाट बन्द गरिएको छ । उक्त पत्रमा सुरक्षाको प्रत्याभूति नभएकाले उपचार सेवा प्रवाह गर्न नसक्ने कारण उल्लेख गरिएको एक चिकित्सकले जानकारी दिए । चिकित्सकहरूमाथि दुर्व्यवहार भएको घटनालाई लिएर सेवा बन्द गरेको जनाएको छ ।
स्वास्थ्यकर्मीहरुले हेटौँडा अस्पताललगायतका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन् । हेटौँडा अस्पतालका सूचना अधिकारी राजीव झाले चिकित्सकमाथि भएको दुर्व्यवहार विरोधमा शुक्रबार अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिनुभयो । यता नागरिक अगुवा र मानव अधिकारकर्मीहरूले भने स्वास्थ्य संस्था बन्द गर्नु अमानवीय भएको भन्दै तत्काल वार्ताबाट समाधान खोज्न सुझाव दिएका छन् ।
डुङ्गेको लक्षण देखिएर सन्चो अस्पतालमा उपचारका लागि आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदम पोखरीका राजेश प्रधानको चितवनस्थित अस्पतालमा उपचारको क्रममा गत साउन २५ गते मृत्यु भएको थियो । उपचारमा संलग्न स्वास्थ्यकर्मी र अस्पतालको लापरबाहीले प्रधानको मृत्यु भएको भन्दै उनका आफन्तले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए ।
चिकित्सामाथि कुटपिटमा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले मृतक श्रेष्ठका श्रीमती, छोरा, छोरी र भतिजलाई बिहीबार नै नियन्त्रणमा लिएको छ ।