परासी, माघ १५ । पश्चिम नवलपरासीको सात पालिकामा गरिएको खोजपडतालमा १८ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । पडतालमा १ बालक सहित १८ जना नयाँ कुष्ठरोग बिरामी भेटिएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत बजरंगी चौधरीले बताउनु भएको छ ।
अहिले नयाँ फेला परेका कुष्ठरोगका बिरामीहरु सबैभन्दा बढी सुनवल नगरपालिकामा रहेका छन् । तथ्यांक अधिकृत चौधरीका अनुसार सुनवल नगरपालिकामा पाँच जना फेला परेका छन् । त्यहाँ एक बालकमा समेत कुष्ठरोग देखा परेको उहाँले बताउनु भएको छ । यस्तै सरावल गाउँपालिकामा ४, र प्रतापपुर, पाल्हीनन्दन, सुस्ता गाउँपालिकामा ३–३ जना कृष्ठरोगका बिरामी फेला परेको तथ्यांक अधिकृत चौधरीले भन्नु भयो । पडतालमा रामग्राम र बर्दघाट नगरपालिकामा हालः कुष्ठरोगका बिरामी फेला परेका छैन्न । जिल्ला स्वास्थ्य कार्यालयले कुष्ठरोग देखा परेका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने गरेको छ । र उनीहरूले औषधि सेवन समेत गरिरहेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा ७० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए । जसमा ८ जना बालबालिका पनि रहेका थिए । कुष्ठरोगका बिरामीमध्ये १२ जना औषधि सेवन गरेर निको भईसकेका छन् । बाँकी ५८ जना उपचारमा रहेको तथ्यांक अधिकृत चौधरीले बताउनु भयो ।
अहिले कुष्ठरोगका बिरामीहरु पता लगाउनका लागि विद्यालय–विद्यालयमा खोजपडताल सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताउनु भएको छ । गाउँ घरमा जाँदा बालबालिकाहरु विद्यालय र घर अन्य मान्छेहरु ज्याला मजदुरि तथा जागिरमा जाँदा भेटघाट नभएपछि विद्यालय खोजपडताल अभियान सुरु गरिएको उहाँले बताउनु भएको छ । जसमा घरको कुनै एक मान्छेमा लक्षण देखापरेपछि बृहत चेकजाँच समेत गरिने उहाँले भन्नु भयो ।
नेपालमा कुष्ठरोग प्रकोपको तथ्यांकको आधारमा नवलपरासी पश्चिम जिल्लामा तेस्रो स्थानमा रहेको छ । पहिलोमा कपिलवस्तु र दोस्रोमा कैलाली छ ।