परासी, भदौं ५ । पश्चिम नवलपरासीमा प्रहरीले खैरो हेरोईन(ब्राउन सुगर) सहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिका ८ बलुवा टोला बस्ने ५२ वर्षीय जगदिश केवटलाई प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी गराउनु भएको छ । उनलाई सोही गाउँपालिका ४ हरकपुराको नेपाल–भारत सिमाना नजिकै पक्राउ गरिएको बताउनु भएको हो । केवटलाई खानतलासी गर्दा उनको साथबाट पैत्तीस ग्राम ब्राउन सुगर बरामद भएको बोहराले भन्नु भयाे । प्रहरीले पाएको गोप्य सूचनाको आधारमा आज विहान साढे १० बजेको समय केवटलाई खानतलासी गर्दा उनले लगाएको पाईन्टबाट उक्त पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लामा प्रहरीले निगरानी बढाए संगै लागुऔषध कारोबार गर्नेहरु पक्राउ पर्न थालेका छन् । प्रहरीले साउन २५ गते प्रतापपुर गाउँपालिका ५ बस्ने अनिल कुमार कुर्मी र फेकु पासीलाई पनि ब्राउन सुगरसहित पक्राउ गरेको थियो । प्रहरीले रामग्राम नगरपालिका १७ पिपरहियामा कुर्मीलाई खानतलासी गर्दा ९ ग्राम २३० मिलिग्राम ब्राउन बरामद गरेको थियो । साउन महिनामा मात्रै प्रहरीले लागुऔषध सहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बोहराले बताउनु भएको छ ।