Thursday, December 5, 2024
घरराजनीतिकोशी प्रदेशमा कहिले होला सरकार विस्तार ?

कोशी प्रदेशमा कहिले होला सरकार विस्तार ?

- Advertisement -spot_img

विराटनगर माघ १६ । कोशीको मुख्यमन्त्रीमा नियुक्त भएको एक सय दिन पुगेको अवसरमा उपलब्धि सार्वजनिक गर्ने क्रममा केदार कार्कीलाई पत्रकारको प्रश्न थियो- मन्त्रिपरिषद्‌लाई कहिले पूर्णता दिनुहुन्छ ?

पत्रकारको प्रश्नमा मुख्यमन्त्री कार्कीले ठट्यौली शैलीमा जवाफ फर्काए, ‘मलाई र अहिले भएकै टिमलाई प्रदेशको काम पुगेको छैन, किन विस्तार गर्नुपर्‍यो र अहिले नै ?’ कांग्रेसका ८ सांसदले गरेको विद्रोहमा एमालेका ३९ सांसदले समर्थन गरेपछि गत २७ असोजमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्तिपछि कार्कीले एमालेका राम राना र विद्रोहमा साथ दिएका शमशेर राईलाई तत्काल विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए ।

पछि सत्तारुढ गठबन्धनले आफ्नै मुख्यमन्त्री भएको स्वीकार गरेपछि कार्की पुनः कांग्रेस, माओवादी, नेकपा एस र जसपाको गठबन्धनभित्रै पुगेका थिए । सत्तारुढ गठबन्धनमै ‘एडजस्ट’ भएपछि एमालेले कार्कीसँग गरेको सहकार्य ‘ब्रेक’ गरेको थियो । एमालेले साथ छोडेपछि कार्कीले माओवादीबाट गणेश उप्रेती र नेकपा एसबाट कमल जगेवुलाई मन्त्री बनाए । त्यसयता अहिलेसम्म कार्कीसहित चार जना मन्त्रीले नै कोशी प्रदेशको सत्ता सञ्चालन गरिरहेका छन् ।

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, स्वास्थ्य मन्त्रालय, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय अझैसम्म मन्त्रीविहीन छन् । यी सबै मन्त्रालय अहिले कार्कीले आफैँसँग राखेका छन् ।

८ माघमा एक सय दिन पुगेको अवसरमा मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारसम्बन्धी विषयलाई सार्वजनिक रूपमा बोल्न चाहेनन् । किनभने ११ माघको राष्ट्रियसभा निर्वाचनअघि कार्की मन्त्रिपरिषद् विस्तारको लफडामा फस्न नचाहेको देखिथ्यो । तर, राष्ट्रियसभा निर्वाचन सकिएपछि पनि कार्कीले मन्त्रिपरिषद् विस्तारलाई आफ्नो प्राथमिकतामा भने नराखेको देखिन्छ ।

निर्वाचनमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारमाथि फ्लोर क्रस भएर एमाले उम्मेदवार निर्वाचित भएपछि सत्तारुढ गठबन्धनमा केही ‘अविश्वास’ देखिएको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले कोशी प्रदेशमा गठबन्धनभित्र माओवादीलाई घात भएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

कहिले हुन्छ मन्त्रिपरिषद् विस्तार ?

राष्ट्रियसभा निर्वाचनपछि हुने भनिएको मन्त्रिपरिषद् विस्तार त्यसो भए किन रोकिएको छ त ? भन्ने जिज्ञासामा कांग्रेसभित्रै एक मत छैन । कांग्रेस संसदीय दलको नेता एक जना र मुख्यमन्त्री कांग्रेसकै अर्को व्यक्ति भएकाले सरकार कहिले विस्तार हुन्छ भन्नेमा कांग्रेसभित्रै स्पष्ट जवाफ छैन ।

‘मन्त्री बनाउने कुराको संकेत अहिले संसदीय दलमा देखिँदैन,’ कोशी प्रदेशसभा सदस्यसमेत रहेका एक कांग्रेस नेता भन्छन्, ‘कांग्रेसभित्र धेरै कांग्रेस छन् । विस्तार कहिले हुन्छ भन्ने जानकारी मुख्यमन्त्रीलाई मात्र थाहा छ ।’ केही दिनमा मन्त्रिपरिषद् विस्तार हुने संकेत गर्दै आएका मुख्यमन्त्री कार्की दुई दिनअघिदेखि संघीय राजधानी काठमाडौंमा  छन् । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लिलावल्लब घिमिरेका अनुसार प्रहरी समायोजनका बैठकदेखि प्रदेशमा काम गर्दै आएका विभिन्न डोनर एजेन्सीका प्रतिनिधिहरूसँग छलफलमा कार्की छन् ।

‘प्रहरी समायोजनको बैठक चलिरहेको छ केही दिनदेखि । प्रदेशमा काम गर्ने डोनर एजेन्सीहरूका प्रतिनिधिहरूसँग पनि छलफल छ,’ घिमिरेले भने । प्रदेशको कामसँगै संघीय राजधानीमा भएका नेताहरूसँग भेटेर कार्कीले मन्त्रिपरिषद् विस्तारको कुरा टुङ्ग्याउने तयारीसमेत गरिरहेका छन् ।

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले अहिले एउटा मात्र मन्त्रालय पाएको छ । माओवादीले थप दुईवटा मन्त्रालयमा दाबी गरिरहेको छ । मुख्यमन्त्री कार्कीले भने माओवादीलाई एक मन्त्रीसहित एक राज्यमन्त्री दिन तयार रहेको संकेत गरेका छन् । त्यसैले काठमाडौं पुगेर कसलाई के भाग लगाउने भन्ने विषयमा कार्कीले कांग्रेस नेता डा. शेखर कोइरालासँगै गठबन्धनका अन्य केन्द्रीय नेताहरूसँग छलफल गरिरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ ।

यसो त, राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुन्जेलसम्म कोशीमा मन्त्रिपरिषद् विस्तार नगर्ने ‘गाइँगुइँ’ हल्ला पनि उस्तै छ । कांग्रेस नेतासमेत रहेका कृष्णप्रसाद सिटौला राष्ट्रियसभाको अध्यक्ष बन्ने तयारीमा रहेकाले अध्यक्ष चयनपछि वा अघि नै मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने भन्ने विषयमा कांग्रेसभित्र छलफल भने चल्दै आएको छ । यता मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार घिमिरे भने काठमाडौंबाट मुख्यमन्त्री कार्की फर्किएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताउँछन् ।

‘लगभग सबै तयारी पूरा भएको छ । काठमाडौंबाट मुख्यमन्त्री फर्किएपछि नै मन्त्रिपरिषद् हुन्छ,’ घिमिरेले भने । साभारः शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्