मोरक्को, असोज २५ गते । नेपालका अर्थमन्त्री डा. प्रकाश शरण महत र कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चूँ क्यूङसँगको दुई पक्षीय विच भेटवार्ता भएकाे छ । साे विचमा डा. महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाई रहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् ।
‘नेपालमा लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी, भारतीय कम्पनी आइटी सी इन्डिया मात्रै होइन मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाई रहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने,‘ हामीहरूले चालू आर्थिक वर्षको बजेट मार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ ।’
नेपाल सरकारले इज अफ डुइङ बिजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले भनेका छन् । त्यस्तै नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह समेत गरे ।
मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् । भेटमा कोरियन अर्थमन्त्री चूँ क्यूङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्याउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने भनेका छन् ।
मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न आमन्त्रण समेत गरेका छन् । उपप्रधानमन्त्री चूँ क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथाशक्य छिटो एजेन्डा तय गर्न भनेका छन् ।
बैठकका क्रममा कोरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वर्ल्ड एक्सपो आयोजना गर्न खोजेकाे भन्दै नेपाललाई सहयोग गर्न आग्रह गरे । इटलीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् । जवाफमा मन्त्री महतले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताए । स्राेतः गाेरखापत्र अनलाइन