काठमाडौँ, चैत २७ । सरकारकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । आज कांग्रेस संसदीय दलको बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सहकारीको रकम अपचनमा गृहमन्त्री नै संलग्न भएकाले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि संसदीय समिति गठनको माग गरेको हो । यसअघि पार्टी उक्त माग गर्दै आएको र आज संसदीय दलको बैठकले माग उचित छ भन्ने ठहर गर्दै तत्काल मागबमोजिम समिति गठन गर्न माग गर्ने निर्णय गरेको हो । Gorkhapatra