काठमान्डाैं, कात्तिक १५ । धेरै तामझमका सुरू गरिएकाे सुर्यविनायक रत्न पार्क द्रुत बस सेवा बन्द भएकाे छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते उद्घाटन गरिएको बस सेवा एक महिनामै ठप्प भएको हो ।
सडकमा करोडौँ रुपैयाँ खर्च रङ पोत्न गरेर सुरु गरिएको सेवा बन्द भएको छ । द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन र ट्राफिक संकेत राख्न मात्रै साढे दुई करोड रुपैयाँ खर्च भएको थियो । सडकमा लगाइएको रङहरू पनि उड्न थालिसकेको छ । सडकको गतिलो संरचना नबनाएरै हचुवाका भरमा गरिएको करोडौँ लगानी बालुवामा पानी जस्तै भएको छ ।
तर सरकारी निकायले भने द्रुत बस सेवा बन्द नभएको दाबी गर्दै तिहारपछि व्यवस्थित रूपमा सञ्चालन हुने बताएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगत्तै द्रुत बस सेवा पुन: सञ्चालनमा आउने बताए ।
‘दसैँदेखि तिहारसम्म राजधानीका सडकहरूमा जाम हुँदैन, यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको हो’, मन्त्री ज्वालाले भने, ‘तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ ।’ शिलापत्र