तौलिहवा, असोज १४ गते । कपिलवस्तुमा प्रहरीले रक्तचन्दन बरामद गरेको छ । कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ ।
अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दन बरामद गरेको हो । लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको उनको भनाई छ ।
रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका ३ का नीम बहादुर नेपाली रहेका छन् । source: Gorkhaptra Online