काठमाडौँ, असार ३० । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिले प्रनिधिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको जानकारी दिनुभएको हो ।
शुक्रबार (असार २८ गते) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास गुमाउनु भएको थियो । सङ्घीय संसदमा उपस्थित २५८ सांसदमध्ये प्रचण्डले पेस गर्नुभएको विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो । एक सांसद तटस्थ बस्नुभएको थियो ।
राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गर्न आईतवार अपरान्ह ५ बजे सम्म आह्वान गर्नुभएको थियो । निर्धारित समयभित्र प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न आग्रह गर्दै संयुक्त रूपमा राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।
अध्यक्ष ओली कांग्रेसको प्रस्ताव र सहयोगमा नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा सिफारिस हुनुभएपछि राष्ट्रपति पौडेलले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो ।