बुटवल, कात्तिक ६ । आइतबार पाल्पाको रानी महल घुमेर फर्कने क्रममा जिप दुर्घटना हुँदा एकै परिवारका ६ सदस्य मृत्यु भएको छ । उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् । एकै परिवारका ६ सदस्यको मृत्युले रजहर गाउँ पुरै शोकमा डुबेको छ ।
मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी पत्नी ५६ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना घिताल, नातीहरु ११ वर्षीय सोबिस धिताल, र सबिनाका अर्का अढाई वर्षीय छोरा रहेका छन्।
त्यसैगरी कृष्णबहादुरका आफन्त लमजुङ वेसीसहर २ भकुण्डेकी ५५ वर्षकी चुना धितालको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।
उनीहरू दसैंमा घुम्न जाने भनेर शनिबार घरबाट हिँडेका हुन् । शनिबार भैरहवा बसेर उनीहरूको पाल्पा हुँदै आइतबार पोखरा पुग्ने तालिका थियो । छिमेकीका अनुसार उनीहरू पाल्पा हुँदै आइतबार पोखरा बसेर सोमवार घर आउने कार्यक्रम थियो ।
बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कारमा सवार उनीहरु पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गर्दा दुर्घटनामा परेका इन्सपेक्टर चन्दले जानकारी दिए। उनीहरु सबैको घटना स्थलमै मृत्यु भएको हो। दसैँको बेला रानीमहल घुम्न गएको बेला उनीहरु दुर्घटनामा परेका हुन्।
तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट कार १ सय मिटर तल खसेको थियो। दुर्घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गएको प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली, सशस्त्र र नेपाली सेनाले संयुक्त रुपमा मृतक र घाइतेको उद्धार गरेको थियो।
जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।