काठमाडौं, १२ । काठमाडौं महानगरपालिकाले शनिबार सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं अगाडि सडकमा धुलो थुपारेकाे छ ।
चक्रपथको कलंकी- महाराजगञ्ज सडक खण्ड समयमै निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण खानुपरेको भन्दै महानगरको बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं गेट अगाडि ब्रुमरले संकलन गरेको धुलो थुपारेको हो ।
मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको भन्दै फेसबुकमा लेख्नु भएकाे छ । उहाँले लेख्नु भएकाे छ, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु ।’
मेयर बालेन शाहले कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारका कारण त्यस क्षेत्रका बासिन्दाले १५ वर्षदेखि धुलो र कष्ट ब्यहोर्नुपरेको बताउनु भएकाे छ ।
‘काठमाडौंमा हुने आधा भन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानुपरेको छ’, उहाँले लेख्नु भएकाे छ ।