लुम्बिनी, फागुन २५ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज (आइतबार) देखि प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन् ।
पीएम कपका खेलहरू सिद्धार्थ रंगशाला भैरहवा, देउखुरी क्रिकेट स्टेडियम दाङ र एक्स्ट्राटेक ओभल तिलोत्तमामा हुनेछन् । पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् भने एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब खेल्दै छन् ।
त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम टिमबीच खेल हुनेछ । पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २–२ पटक यो उपाधि जितेका छन् ।
प्रतियोगिताका ४६ वटा खेलमध्ये भैरहवाको सिद्धार्थ रंगशालामा सबैभन्दा धेरै १७, तिलोत्तमाको एक्ट्राटेक ओभलमा १५ र दाङको लमहीमा १४ वटा खेल हुनेछन् । प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशका तीन रंगशालामा हुने भएपछि यहाँका क्रिकेटप्रेमी र व्यवसायीसमेत उत्साही देखिएका छन् । Shilapatra