काठमान्डाैं, चैत २६ । आज सूर्यग्रहण लाग्दै छ । आज लाग्ने सूर्यग्रहण अमेरिकाका केही क्षेत्रबाट देखिनेछ । उत्तरी अमेरिकाको केही क्षेत्रबाट देखिने यो सूर्यग्रहणका कारण ४ मिनेट ९ सेकेन्डसम्म अन्धकार छाउने जनाइएको छ । क्यानडा, मेक्सिको तथा उत्तरी अमेरिकासम्म यो सूर्यग्रहण देखिनेछ ।
यो सूर्यग्रहण लामो भएकाले नासाका वैज्ञानिकहरूले केही प्रयोग गर्ने योजना पनि बनाएको बीबीसीले उल्लेख गरेको छ । यो शताब्दीमा पहिलोपटक तीन देशबाट पूर्ण सूर्यग्रहण देखिन लागेकाले यसलाई दुर्लभ भनिएको छ । करिब ३१ लाख मानिसले यो सूर्यग्रहण देख्नसक्ने बताइएको छ ।
वैज्ञानिकहरूले ग्रहणको समयमा वन्यजन्तुमा कस्तो असर पर्छ भनेर अध्ययन गर्ने तयारी गरेका छन् । अमेरिकाको क्यारोलिनास्थित एनसी स्टेट युनिभर्सिटीले २० जनावरको व्यवहारको अध्ययन गर्ने भएका छन् । त्यस्तै नासाले पनि जनावरहरूको व्यवहारको अध्ययन गर्ने तयारी गरेको छ ।
त्यस्तै नासाले सूर्यग्रहणको समयमा वातावरणमा हुने परिवर्तनलाई पनि रेकर्ड गर्ने तयारी गरेको छ । त्यसका लागि नासाले तीन वटा साउन्डिङ रकेट लन्च गर्ने तयारी गरेको छ । यो पृथ्वीको सतहबाट ४२० किलोमिटर उचाइसम्म पुग्नेछ । पहिलो रकेट ग्रहण लाग्नुभन्दा ४५ मिनेट पहिले, दोस्रो ग्रहणको समयमा र तेस्रो ग्रहण लागेको ४५ मिनेटपछि लन्च गर्ने तयारी छ ।
त्यस्तै हवाइजहाजबाट ग्रहणको तस्वीर लिने नासाको तयारी रहेको बीबीसीले जनाएको छ । त्यस्तै ग्रहणको समयमा वायुमण्डलीय तथा जलवायु परिवर्तनको रेकर्ड गर्नका लागि एक बेलुन प्रोजेक्ट पनि लागू गरिने भएको छ । साभारः शिलापत्र अनलाइन https://shilapatra.com/detail/134211