काठमाडौं, माघ २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको एक प्रहरी अधिकृतले बताए ।
सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तान १२ माघमा विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए ।
मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए । त्यसक्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ ।
त्यसपछि प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो । अनलाइन खबर